
इङ्ल्याण्डले महिला युरो २०२५ को फाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै लगातार दोस्रो पटक युरोपेली च्याम्पियन बन्ने गौरव हासिल गरेको छ।
सन् २०२२ मा इङ्ल्याण्डले जर्मनीलाई हराएर उपाधि जित्दा जसरी क्लोइ केली हिरो बनेकी थिइन्, यस पटक पनि उनले निर्णायक पेनाल्टी गोल गर्दै १–१ को बराबरीपछि इङ्ल्याण्डको जित सुनिश्चित गरिन्। यो जितले २०२३ को महिला विश्वकप फाइनलमा स्पेनसँगको हारको बदला पनि चुकाएको छ।
तर यो जित केवल केलीको मात्र कथा होइन। प्रशिक्षक सारिना विगम्यानको टोलिले फेरि एकपटक आफ्नो दृढता र मनोबलको उच्च स्तर देखाएको छ। एलेसिया रूसोले ५७ औं मिनेटमा हेडमार्फत गोल गर्दै स्पेनकी मरिओना काल्देन्तेको सुरुवाती गोलको जवाफ दिइन् र खेललाई बराबरीमा ल्याइन्।
लुसी ब्रोनजले त झन् अद्भुत साहस देखाइन्। उनले सम्पूर्ण प्रतियोगिता खुट्टाको हड्डी फ्र्याक्चर (tibia fracture) भएको अवस्थामै खेलेको खुलासा गरेकी छिन्, र फाइनलमा पनि झन्डै दुई घण्टा मैदानमै रहिन्।
केलीले २०२२ को फाइनल र यसपटकको सेमिफाइनलमा निर्णायक गोल गर्दै इङ्ल्याण्डको भाग्य बदलिदिएकी थिइन्, र फाइनलमा पनि त्यसलाई दोहोराइन्।
यस पटक केही नयाँ अनुहारहरूले पनि उत्कृष्ट प्रदर्शन गर्दै भविष्यमा यो टोलीबाट अझ धेरै आशा गर्न सकिने संकेत दिएका छन्। गोलरक्षक हन्ना ह्याम्पटनले दिग्गज गोलकिपर मेरी अर्प्सको छायाँबाट निस्कँदै स्पेनविरुद्धको पेनाल्टी सुटआउटमा दुई पेनाल्टी बचाइन्, जुन उनले क्वाटरफाइनलमा स्विडेनविरुद्ध पनि गरेकी थिइन्।
मिसेल अग्यमाङले क्वाटरफाइनल र सेमिफाइनलमा महत्वपूर्ण गोल गर्दै प्रतियोगिताकै उत्कृष्ट युवा खेलाडीको उपाधि जितिन्। यद्यपि, त्यो उपाधिभन्दा पनि उनको लागि घाँटीमा लागेको स्वर्ण पदकको महत्त्व बढी हुनेछ।
विजयपछि ‘लायोनेस’ खेलाडीहरूले उत्साहपूर्वक जितको उत्सव मनाए। केलीले टोलीको अनौपचारिक गीत ‘स्विट क्यारोलाइन’ गाएर उत्सवको नेतृत्व गरिन्।
बीबीसीसँग कुरा गर्दै ह्याम्पटनले भनिन्, “हामीसँग त्यो जिद्दि र आत्मबल छ। हामीभित्र अंग्रेजी रगत बगिरहेको छ। म अझै विश्वास गर्न सकिरहेको छैन। मलाई लाग्छ यो महसुस हुन केही समय लाग्नेछ।”
यो ऐतिहासिक जितप्रति बेलायती शाही परिवारले पनि बधाई दिएको छ। राजा चार्ल्सले सन्देशमार्फत लेखे, “तपाईंहरूले मेरो परिवारको तर्फबाट हार्दिक कृतज्ञता र प्रशंसा प्राप्त गर्नुभएको छ। अझ महत्वपूर्ण कुरा, तपाईंहरूको उदाहरणले देखाएको छ कि संसारमा यस्ता केही चुनौती हुँदैनन् जसलाई आत्मबल र संघर्षले जितमा बदल्न सकिंदैन।”
यो जितले न केवल फुटबलमा इङ्ल्याण्डको स्थान बलियो बनाएको छ, तर महिला खेलाडीहरूको प्रेरणादायी यात्रा र योगदानलाई पनि उजागर गरेको छ।
