नेपाली कांग्रेसले आगामी फागुन २१ गते २०८२ (२०२६) को आम निर्वाचनका लागि पार्टी सभापति गगन कुमार थापालाई प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा औपचारिक रूपमा घोषणा गर्दै चुनावी मैदानमा जाने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको विशेष बैठक सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार सम्पन्न बैठकले उक्त निर्णय पारित गरेको हो।
कांग्रेसले यसपटक यूवा नेतृत्व, नीतिगत स्पष्टता र विवादमुक्त चुनावी एजेन्डा प्रस्तुत गर्ने उद्देश्यका साथ थापालाई राष्ट्रको सम्भावित प्रधानमन्त्रीका रूपमा अघि सारेको जनाएको छ। बैठकमा पार्टीका दुई उपसभापति — विश्वप्रकाश शर्मा र पुष्पा भुसाल — ले सैद्धान्तिक तथा रणनीतिक आधारमा थापाको नाम सिफारिस गरेका थिए, जसलाई बैठकमा सहभागी सदस्यहरूले सर्वसम्मत रूपमा समर्थन गरेका हुन्।
थापा यसअघि नै नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भई पार्टी नेतृत्व सम्हालिसकेका छन्। यस निर्णयलाई पार्टीभित्र लामो समयदेखि देखिँदै आएको नेतृत्व परिवर्तन र संगठनात्मक पुस्तान्तरणको प्रक्रिया पूरा भएको संकेतका रूपमा अन्तर्राष्ट्रिय तथा स्थानीय राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।
पार्टी नेताहरूका अनुसार प्रधानमन्त्रीका उम्मेद्वारको घोषणा स्वयंले मतदातालाई कांग्रेसले कस्तो नेतृत्व प्रस्तुत गर्न खोजिरहेको छ भन्ने स्पष्ट सन्देश दिनेछ। उपसभापति विश्वप्रकाश शर्माले भने,
“निर्वाचनमा सहभागी हुँदा पार्टीको नेतृत्व र प्रधानमन्त्रीको उम्मेद्वार स्पष्ट रूपमा प्रस्तुत गर्नु आवश्यक ठानेर हामीले गगन थापालाई अघि सारेका हौं, ताकि मतदाताले विकल्प प्रष्ट रूपमा देख्न सकून्।”
यस निर्णयसँगै मुलुकको राजनीतिक प्रतिस्पर्धा थप तीव्र बनेको छ। प्रतिद्वन्द्वी दलहरूले पनि आ–आफ्ना प्रधानमन्त्रीका उम्मेद्वार घोषणा गरिसकेका कारण आगामी निर्वाचन अझ प्रतिस्पर्धात्मक हुने देखिएको छ।
प्रधानमन्त्रीका उम्मेद्वार घोषित भएपछि थापाले चुनावी अभियान अघि बढाउने क्रममा पार्टी एकता, युवा सहभागिता, आन्तरिक सुधार र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणलाई प्राथमिकता दिने बताउँदै आएका छन्। उनले नयाँ पुस्ताको सक्रिय भूमिकाबाट मात्र पार्टी र देशलाई अघि बढाउन सकिने धारणा सार्वजनिक रूपमा व्यक्त गर्दै आएका छन्।
नेपाली कांग्रेसले आगामी दिनमा आफ्नो नीतिगत घोषणापत्र सार्वजनिक गर्ने तयारीसमेत गरेको छ, जसमा आर्थिक सुधार, सुशासन, सरकारी पारदर्शिता र सामाजिक समावेशीता जस्ता समसामयिक राष्ट्रिय मुद्दालाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।
