क्यालिफोर्नियामा सिसेक्पा तङ्नाम् भव्यताका साथ सम्पन्न

अमेरिका- क्यालिफोर्निया राज्यमा बसोबास गर्ने नेपालका रैथाने भूमिपुत्र याक्थुम्ङ् लिम्बूहरुले आफ्नो समुदायको मौलिक चाँड सिसेक्पा तङ्नाम् यहि जुलाई २७, २०२५ मा मनाउँनु भएकाे छ ।


यस पर्वको अवसरमा बिहान सबेरै बनपाखा गइ अरेरको काँडा, हरकटो, सिस्नु र काउलोको पात संकलन गरी ती पातहरू बाबियोको डोरीमा बाँधेर लामो माला बनाइन्छ। उक्त मालालाई घरको मूल ढोकाबाट सुरु गर्दै पूरै घर वरिपरि फन्को मार्दै बाँध्ने परम्परा रहेको छ।

प्रचलित जनविश्वास अनुसार, यसरी पर्व मनाउँदा जीवनमा आइपर्ने दुःख,कष्ट,रोग र अनिकालजस्ता समस्याहरू टर्छन् र सहकालको सुरुवात हुन्छ।

     कार्यक्रमको अवसरमा सान फ्रान्सिस्को नजिकै रहेको ब्रकर्ली मरिना पार्कमा याक्थुङबाहरू भेला भई परम्परागत खेलकुदहरु साथै सांस्कृतिक प्रस्तुति सम्पन्न भएको थियो । कार्यक्रममा केलाङ्, हाक्पारे साम्लो, च्याब्रुङ, र धान नाँच समेत प्रस्तुत गरेका थिए।

कार्यक्रमले प्रवासमा बसोबास गरिरहेका याक्थुङ समुदायबीच एकता, पहिचान संरक्षण, र संस्कृतिक सम्बद्धतालाई अझ सुदृढ बनाएको सहभागीहरूले बताए।

उक्त सामाजिक कार्यक्रमको उद्घाटन जेष्ट तुम्याहाङ सन्तोष कुरुंङ्बाङ, संस्थापक अध्यक्ष रोशन लिबांङ् र समाजसेबी सरु साँवाले संयुक्त रुपममा थानमा दियो बालेर गर्नुभएकाे थियाे।

कार्यक्रममा नेपाली संघ संस्थाका अग्रज व्यक्तित्वहरुको उपस्थिति रहेको थियो। 

कार्यक्रममा किरात याक्थुङचुम्लुङ क्यालिफोर्निया अमेरिका का अध्यक्ष अतित सुब्बाले उपस्थित कुल कुटुम्ब, पर पाहुना तथा इस्टमित्रहरुलाई हार्दिक धन्यबाद दिदै, कार्यक्रम सफल बनाउन अहोरात्र खटिने सहयोगी सदस्यहरुलाइ बिशेष धन्यबाद दिँदै कार्यक्रमको विधिवत समापन गर्नु भएकाे थियाे।